सुन/चाँदीका गहनामा जर्तिको फन्दा

©राजष्टरे

बहुमुल्य धातु, सुन/चाँदीका गहना बनाउदा जर्ति(making loss/ wastage) जान्छ कि जादैन भन्ने बिषयमा हाल नेपालमा निक्कै बहस हुने गरेको छ। गहना निर्माण प्रकृयाको सामान्य जानकारि समेत नभएका केही ठुला व्यापारिक घरानाले हालैका दिनमा सुनका गहना निर्माण प्रकृयामा जर्तिनै जादैन भनेर हल्ला गरेपछि आम सर्वसाधारण लगायत सम्बन्धित विभागका केही उच्च पदस्त कर्मचारिहरुले समेत गहना निर्माण प्रकृयामा जर्ति जान्छ कि जादैन भन्ने विषयमा अत्यन्त बढी चासो राख्न थालेको देखिन्छ।
वास्तवमा जर्ति(making loss/wastage) भनेको के हो त?
जर्ति भनेको कुनैपनि गहना बनाउदा,निर्माण गर्दा खिइएर,धुलोको कण भएर, गलाउँदा क्षय भएर जाने भागलाई भनिन्छ। गहना निर्माणमा निश्चित रुपले जर्ति जान्छ , कति जान्छ त? भन्ने सवालमा चाहिँ गहनाको प्रकृति,डिजाइन, फिनिशिङ,सुनको क्यारेट र जटिलतामा भर पर्छ। सामान्यतया हस्तकलाका गहनामा भन्दा मेशिनबाट बन्ने गहनामा कम जर्ति जान्छ तर उत्पादनको मात्रा उच्च हुनुपर्छ, कम मात्रामा उत्पादन भयोभने लागत बढी पर्न जान्छ, जर्ति पनि बढीनै जान्छ । सुनको शुध्दता(karat) ले पनि जर्ति जाने प्रकृयालाई फरक पार्न सक्छ। सामान्यतया बेरुवा रिं औंठीमा ०.२५% जान्छभने अन्य गहनाको हकमा गहनाको जटिलता अनुसार १२-१३% सम्म जर्ति जान सक्छ, तर चलनचल्तीका सामान्य गहनामा २%देखि ६% सम्म जान सक्छ।
विकसित मुलुकहरुमा अधिकांश गहनाहरु मेशिनको प्रयोगले कम क्यारेटका २२-१८-१४ क्यारेटका बनाउने गरिन्छ भने नेपालमा त्यसको ठिक विपरित हास्तकलाको माध्यमबाट २४ क्यारेट शुध्दताका गहना बनाइन्छ, जनमानसमा त्यहि लोकप्रिय छ। २४ क्यारेटका गहना बनाउने क्रममा बढी जर्ति जान्छ तर पलिश फिनिशिङमा धेरै नघोटिने हुनाले फिनिशिङ तिर कम जर्ति जान्छ, २४ क्यारेटका गहनामा धेरै चमक ल्याइदैन । किनकि २४ क्यारेटकाे सुन एकदमै नरम(२.५ कडापन) हुने हुँदा गहना निर्माणको प्रकृयामा फलामका औजारहरुसँग घर्षणको क्रममै बढी क्षय भैसकेको हुन्छ। त्यस्तै ढालेका(casting,मेशिनमेड) गहनाहरु कम शुध्दता(२२-१८karat) मा बनाइने भएकाले गहनामा गाल्ने क्रममा ,पालिश, सेटिङ फिनिशिङमा धेरै जर्ति जान्छ। कम क्यारेटका सुन कडा हुनेहुदा धेरै राम्रो चमक आउँछ। चकमताको लागि धेरै घोट्ने गरिन्छ।
अहिले एकाइसौं शताब्दीका ए आईको दुनियाँमा हुर्केका नयाँपुस्ता र सम्बन्धित विषयमा अज्ञानता भए सो बिषयवस्तुको बारेमा सर्च गरेपछि एआईले टक्क जवाफ खोजिदिएस्तै सुन मेशिनमा राख्ने बितिक्कै भनेको डिजाइनका साइजका गहना एटीएम मेशिनबाट नोट झरेझैं ठ्याक्क झर्छ भन्ने सोचेको हुनसक्छ। नत्र त वर्षौंको कडा मेहनत र तपस्याले खारिएका कालिगडले बनाएका सुनचाँदीका गहनामा जर्तिनै जादैन भनेर बहस गर्नुनै बेकार हो। मेशिनको प्रयोगले बन्ने हुन् वा हातले परम्परागत तरिकाले बन्ने गर-गहना हुन्, सबै गहना बानाउदा औजारको प्रयोग हुन्छ। रेटघोट पालिश गर्नै पर्छ,त्यसक्रममा जर्ति जाने हो। गर-गहनाको भनेकै श्रिङ्गारका सामान हुन्,त्यसैले यसका डिजाइनहरु अत्यन्त परिबर्तनशिल हुन्छन्,यस्को उत्पादनमा गरिने मेहनत, सीप र रच्नात्मकता,बनाईने तरिका, डिजाइनहरु र त्यसमा आकर्षण थप्न गरिने कालिगरिता अत्यन्त व्यापक हुन्छ,त्यसैले कुन गहनामा कति जर्ति जान्छ ठ्याक्कै भन्न गारो हुन्छ। कस्तो खालको गहना कस्तो मेशिनमा बन्छ र कुन कुन प्रकृयाले बन्छ भन्ने जान्न जोसुकैले युट्युबमा सर्च गरेर हेर्न पनि सकिन्छ। तैपनि वस्तुगतरुपमा उपभोक्ताले सामान्य प्रचलित गहनाहरुको माग गर्नेहुनाले र स्वतन्त्र बजारमा प्रतिपर्धात्मक रुपमा कम ज्याला जर्ति कायम गर्नु व्यवसायीको बाध्यता र धर्म हुन्छ भने उपभोक्ताको चाहिँ अधिकारै हो। यहि क्रममा नेपालमा प्रचलित गहना कुन कुन प्रविधिबाट बन्छ भनेर यसमा प्रकाश पार्न कोसिस गरेको छु।
नेपालमा मुख्यरुपमा ३ प्रकारबाट गहना निर्माण गरिन्छ।
१)हस्तकलाका माध्यम
२) मिस्रितकला माध्यम(मेशिन तथा हस्तकला)
३) मेशिनका माध्यम
१) हस्तकला माध्यम:- नेपालका प्राय: सम्पुर्ण मौलिक गर-गहना हस्तकलाकै माध्यमले बनाइन्छ। हत्था छिना सनासो कैंचि इत्यादी औजारहरुको प्रयोगगरि बनाइने तिलहरि, जन्तर, क्लिप, बुट्टे चुरा बाला, पंचरत्न चुरा बाला, हँसुली, तायो, अनि ठाउँ अनुसारका विभिन्न जनजातिका मौलिक गर-गहनाहरु प्रायः हस्तकला निर्मितनै हुन्छन्। सुनको अत्यन्तै पातालो गेजमा बनाइने यस्तो गहनामा मेशिनको उपयोग नगन्यमात्र हुन्छ, एउटै थरिका जनजातिले पनि ठाउँ प्रदेश अनुसार फरक डिजाइनका गहना लगाइने भएकाले सायद नेपाली मौलिक गहनाको लागि मेशिनै बनाउन पनि असम्भव हुनसक्छ। यस्तो गहनाकाे निर्माणको लागि सिध्दहस्त कालिगढको आवश्यक्ता पर्छ र जर्ति पनि गहनाको बुट्टा र फिनिसिङ अनुसार अलि बढीनै जान्छ।
२) मिस्रितकला माध्यम:- यो माध्यमबाट उत्पादन गरिने गर-गहना नेपालमा सबैभन्दा धेरै उपयोग गरिने गहनामा पर्छन्। नेक्लेश, हार, झुम्का, अौंठी सिक्रि बाला इत्यादी यस्तो माध्यमबाट तयार गरिन्छ। मेशिनबाट विभिन्न डिजाइन अनुसारका , भिन्न भिन्न साइजका ठप्पा साँचोहरुको समिश्रणबाट सुनका पातामा बुट्टा निकालिन्छ। डिजाइन अनुसार सुनका बल, टीका,सिक्रि छुट्टाछुट्टै रुपमा बनाएर हज्जारौं टुक्राहरु जोडेर हार, झुम्का औंठी निर्माण गरिन्छ। यस्तो गहना निर्माणमा एउटै गहनाको लागि ५ देखि ७ जनासम्म छुट्टाछुट्टै विभागका कालिगडको आवश्यकता हुन्छ भने ६/७ थरिका मेशिनको प्रयोग हुन्छ । धेरैजनाको सम्पर्कबाट गहना बन्ने भएर जर्ति पनि बढीनै जान्छ।
३) मेशिनका माध्यम:- यस माध्यमबाट बन्ने गहना विकसित देशबाट आयातित डिजाइनका गहना हुन्। नेपालमा औंठी, टप नेक्लेशहरु ढलाई(casting) प्रकृयाबाट अत्याधुनिक CAD/CAM मेशिनबाट डिजाइन गरेर बनाउने प्रविधि आइसकेको छ। यो प्रविधिबाट गहना बनाउदा ढलाई(casting) गरिसकेपछि गहनाको दुरुस्त स्वरुप आउने भएपछि तुलनात्मकर रुपमा कम जर्ति जानू पर्ने भएपनि ढलाई गरिसकेपछि साइज,तौल मिलाउन तथा चिल्ल्याउनको लागि रेट्ने घोट्नुपर्ने र पलिस पत्थर जडान गर्ने कार्यमा धेरै जर्ति जान्छ। मेशिन सिक्रिको भिन्न भिन्न डिजाइनको लागि छुट्टाछुट्टै मेशिन चाहिने भएकाले लागत अतिधेरै पर्ने र लगानी अनुसारको बजार नपाइने हुनाले नेपालमा प्रचलित केहि डिजाइन बनाउने मेशिनमात्र उपलब्ध छ, त्यहि अनुसार उत्पादन हुन्छ। मेशिनबाट सिक्रि उत्पादन गर्ने भने पनि स्वचालित रुपमा बन्ने भएपनि, ढिक्का सुनबाट लामो तार तानेर हज्जारौं टुक्रा बनाएर क्रमिकरुपमा मेशिनले बुनेर जोडेर उत्पादन हुने हुनाले मेशिनमै पनि राखेको जतिपुरै सुनको सामान तयार हुदैन, जर्ति जान्छ, तर तुलनात्मक रुपमा हातले बुनेर बनाउने भन्दा कम जान्छ।
नेपालमामात्र हैन विश्वमै गर-गहना निर्माण र उत्पादनमा जुनसुकै प्रकारका, हस्तकला होस वा मेसिन प्रयोग गरोस्, उक्त गहना तयार गर्न अनिवार्य रुपले निम्न चरणहरुबाट गुज्रनु पर्दछ।
१) ढिका सुन गाल्ने, वा खार्ने:- यस प्रकृयामा केही प्रतिशत क्षय हुनसक्छ ।
२) कटिङ:- सग्लो ढिका सुनलाई लामो पाता वा तार बनाएर वा डिजाइन अनुसारको टुक्रा पार्नु पर्छ।
३) रेटि र फाइलले घोटेर काटेर अनावश्यक भाग हताउने मिलाउने गर्नु पर्छ।
४) अन्तिम स्वरुपको गहनालाई चमक ल्याउन रसायनहरु (जस्तै सल्फ्युरिक,नाइट्रिक एसिड आदि) मा पकाउनु पर्ने हुन्छ। जुन जर्ति जाने मुख्य कारक तत्व हो।
५)पालिश कटिङ:- गहनालाई आकर्षक बनाउन मुख्य निर्माण प्रकृया सकेपछि तारको ब्रश वा पलिशग्रेन ड्रम मेशिनमा पलिश गर्नु पर्छ। यस अन्तर्गत आवश्यकता अनुसार थप चम्काउन चिल्याउन बफ मेशिनमा घोट्नु पर्ने,मेशिनले कटिङ गरेर चम्किलो बुट्टा भर्नुपर्ने हुन्छ।
६) रत्न पत्थर जडाउ गर्नुपर्ने गहनामा रत्न पत्थर जडान गर्ने क्रममा पनि थप केही जर्ति जान्छ।
नेपालमा लगाइने केही प्रकारका सुनका गहनाको उत्पादन मेशिनबाट भएपनि एउटै मेशिनले सम्पुर्ण प्रकारका गहना तयार गर्ने मेशिन हालसम्म कहिंपनि बनेको छैन, बरु एउटा गहनाको लागि धेरैवटा मेशिनको प्रयोग गर्नुपर्ने हुनसक्छ। यहाँ बुझ्नुपर्ने अर्को के छ भने, चाहिएको निश्चित तौलको गहना तयार गर्न त्यस्को २५ देखि २००% सम्म थप तौल राख्नु पर्ने हुनसक्छ। जस्तै१० ग्रामको एउटा औंठि तयार गर्न १२.५ ग्राम सुन(चापन) राखेर बनाउनु पर्दछ, त्यस्मा रेटघोट र अनावश्यक भाग काट्दा चहिएको तौलका गहना तयार हुन्छ। यस प्रकृयामा थपिएको चापन सहित १२.५ ग्राम सुनमै जर्ति जान्छ। मेशिनको प्रयोग गरि बनाइने ठप्पासिक्रि (विशेष प्रकारको डाइस) बनाउन २००% सम्म थप चापन राख्नु पर्ने हुन्छ, १० ग्रामको सिक्रि तयार गर्न ३० ग्राम सम्म सुन चलाउनु पर्ने हुन्छ। यी त सामान्य उदाहरण हुन् , माथि उल्लेख गरिए जस्तै गर-गहना निर्माणको क्षत्र अन्त्यन्त परिवर्तनशिल व्यापक छ।
दुई ठुला औद्योगिक राष्ट्रबिचको हाम्राे देशको गहनाको सानो माग अनुसार औद्योगिक रुपमा अर्बौं लगानी गरेर उद्योग स्थापना गर्न सम्भव छैन, फेरि नेपाल सरकारको निति पनि यो व्यवसाय फस्ताउने गरि कहिलै आएको छैन।
नेपालमा बिगतका दशक सम्म खासगरि मध्यम र निम्न मध्यम वर्गले बेरुवा रिं, बेरुवा औंठि, बेरुवा चुरा, सादा सिक्रि गहनाका रुपमा प्रयोग गर्ने गरेको पाइन्छ,जुन गहनाकम सम्पत्तिको रुपमा बढी जोहो गर्ने चलन थियो। जटिल डिजाइनका गहनामा ज्याला जर्ति धेरै खर्च हुन्छ भन्ने ज्ञान त्यसबेला रहेको पाइन्थ्यो भने उच्च मध्यम वर्ग, उच्च वर्गले आधुनिक डिजाइनका बहुमल्य रत्न पत्थर जडित गर- गहना लगाउथे। तर अहिले प्राय सबै वर्गका ग्राहकले अत्याधुनिक नयाँ नयाँ डिजाइनका गहना फेसनका रुपमा लगाउने प्रचलन छ, सामान्य आयश्रोत भएका व्यक्तिले पनि बहमुल्य पत्थर जडित गहना लगाउने गरेको पाइन्छ। त्यस्तो गहनामा जर्ति ज्यालाको खर्च बढीनै हुन्छ। यस्तोमा व्यवसायीले महँगो र अनुचित जर्ति लियो भन्ने आवाज उठेको पाइन्छ। तर हाम्रो जस्तो स्वतन्त्र र आवश्यक्ता भन्दा बढी व्यवसायी र कालिगड भएको ठाउँमा प्रतिस्पर्धि बजार हुने हुनाले महँगो जर्ति ज्याला लिन सम्भव होला जस्तो लाग्दैन, बरु गुणस्तरमा सम्झौता गरेर सस्तो सामान दिने कुरामा ध्यान दिनु उचित हुन्छ।
अब नेपालमा व्यवसायीहरुले लिने ज्याला जर्ति उचित छ कि छैन भन्ने प्रश्न पनि आउँछ । यहाँ व्यवसायी २ वर्गका छन्, परंपरागत रुपमा आफै गहना निर्माण गरेर पसल गरि बसेका र ठुला व्यापारिक घराना जुन अन्य व्यवसायबाट पोर्टफोलियो विविधिकरणको क्रममा सुनचाँदी व्यवसायमा आएका हुन्। यहि २०८१ असार मसान्त अघिसम्म जर्तिको बारेमा बिबाद थिएन, ठुला घराना व्यवसायीले सामान्यतया ५-६% जर्ति ११-१२% ज्याला लिने गरेको पाइन्थ्यो भने अन्य साना व्यवसायीले ८-१०% जर्ति १/२% जति ज्याला लिने गरेको पाइन्थ्यो। तर २०८१ असार मसान्त पछि सुनमा बजेत मार्फत २०% भंसार दर कायम गरेपछि केहि ठुला व्यवसायीमा अचानक जर्ति लिन हुदैन, गर-गहना निर्माणमा जर्तिनै जाँदैन, उपभोक्तालाई महगो जर्ति ज्याला लिन पाईदैन भन्ने दिव्य ज्ञान पलाएको देखिन्छ, सुनका गहनामा जर्ति नलिने ६% ज्याला मात्र लिने घोषणा गरेको पाइन्छ। एकदिन अघि सोही पसलमा सामन किन्ने ग्राहक अचानकै एकदिन पछि ११-१२% महगोमा परिएको होसपनि भएनछ।
यता अब साना व्यवसायीका सामानमा ८-१०% जर्ति र १% जति ज्याला लिँदा ठुला पसलमा भन्दा महँगो पर्ने भयो, त्यसमाथी जर्तिनै नजाने प्रचार भएपछि उनीहरुलाई व्यापार गर्न असहज भएको देखिन्छ। यहाँनीर साना व्यवसायीले वास्तविक ज्याला अत्यन्त कम देखाएर वास्तविक जर्ति भन्दा बढी जर्ति लिएर कारोवार गरेको देखिन्छ, निम्न,मध्यम वर्गका ग्राहकले वास्तविक ज्याला(बनाउने लागत+नाफा) धेरै भनेपछि सामान बेच्न गार्‍हो हुने डरले कम ज्याला र बढी जर्ति लिने गरेको अनुमान लगाउन सकिन्छ। तर समग्रमा उपभोक्ताको खर्च ठुला पसलमा भन्दा तुलनात्मक रुपमा थोरैनै लिएको देखिन्छ । ठुला साना जुनसुकै व्यवसायीले ज्याला जर्ति आ-आफ्नो लागत अनुसार राखेको भए पनि,त्यसभित्र समग्रमा गहना निर्माणको जम्मा लागत(जर्ति+कालिगडको ज्याला+औजार,रसायन खर्च आदि) लगानी गर्ने पसल व्यवसायीको नाफा(प्याकिङ खर्च पसलभाडा लगायत सम्पुर्ण खर्च) त्यसैमा समेटिएको हुन्छ। यहाँ मननयोग्य कुरा के छ भने ज्याला र जर्ति अथवा ज्यालामात्र जुन प्रणाली भने पनि उपभोक्ताको खर्च लागत बढ्नु भएन, जर्ति नलिने तर ज्याला १०-१५% गयोभने उपभोक्तालाई फाइदा हुदैन। यता अर्को स्मरणयोग्य कुरा के छ भने, सुनको कोटा प्रणाली र भंसार दरले गर्दा ज्याला जर्ति अस्थिर हुनेगरेको छ, आन्तरिक माग र आपुर्तिमा सन्तुलन नभए पछि यसरि मुल्ययुध्द चलेको बुझ्न सकिन्छ।
नेपालमा परंपरागत कालिगडको रुपमा काम गरेर आफ्नै बिक्री केन्द्रको रुपमा स-सानो पसल चलाएर बस्ने व्यवसायीको बाहुल्य छ। त्यसैले ज्याला जर्तिमा एकरुपता ल्याउन गार्हो काम हाे। अपितु यस क्षत्रको हित अधिकारको लागि काम गर्न भनी धेरै संघमहासंघ रहेको छ, उनिहरुले उपभोक्ता व्यवसायी र कालिगड सबैको हित हुने गरि नितीनियम बनाउन सरकारलाई सक्दो दबाव दिनुपर्ने देखिन्छ।
नेपाल सरकारको कर नीति र व्यवसायीको आन्तरिक लेखा मिलाउनको लागि गर-गहना निर्माण लागत लगायत व्यवसायीको नाफा अनि उपभोक्ता हित सुनिश्चित गरि सर्वमान्य नीतिगत व्यवस्था गर्न सरकार लगायत सम्बन्धित सबै संघंस्थाले पहल गर्न ढिलो भैसकेको छ, देशको अत्यावसेकमा सेवा नपरेको भनेर यो व्यवसायलाई अवमूल्यन र बेवास्ता गर्न मिल्दैन।सहि नितिनियम बनाएर दियो भने यस क्षत्रले ऐलेको भन्दा धेरैगुणा बढाएर कर तथा रोजगारि बृदि गर्न सक्छ।

नेपाल सुनचाँदी व्यवसायी संघ (केन्द्रीय कार्यालय) को ३३औं र ३४औं बार्षिक साधारण सभा तथा बिशेष छलफल सहितको मनोरञ्जनात्मक बनभोज कार्यक्रम सम्पन्न

नेपाल सुनचाँदी व्यवसायी संघ (केन्द्रीय कार्यालय) को मिति २०८२ श्रावण १७ गते शनिवारका दिन  ३३औं र ३४औं बार्षिक साधारण सभा तथा बिशेष छलफल सहितको मनोरञ्जनात्मक बनभोज कार्यक्रम टौदह ब्याङक्वेट एण्ड रेष्टुरेन्ट, किर्तिपुर न.पा.–६, टौदह, किर्तिपुरमा सभ्य तथा भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा बार्षिक प्रतिवेदन, कार्य योजना तथा आर्थिक प्रतिवेदनहरु छलफल गरी पारित गर्ने प्रमुख एजेन्डा भएपनि उपस्थित विज्ञ, बिशिष्ट व्यवसायी, कानूनबिदज्यूहरुले यस क्षेत्रमा आएको बिषम परिस्थितिमा महासंघहरुले बस्तुगत रुपमा गहन भुमिका खेल्न नसकिरहेको अवस्थामा नेपाल सुनचाँदी व्यवसायी संघ, केन्द्रीय कार्यालयले आगामी दिनमा गर्न सक्ने र खेल्नुपर्ने भुमिका तथा आम व्यवसायीले यस संघ प्रति आशा गरिरहेको बिषयहरुका बारेमा समेत गहन छलफल भएको थियो ।

माननीय श्री मिन बहादुर विश्वकर्मा, पूर्व उद्योग तथा बाणिज्य मन्त्रीको प्रमुख आतिथ्य तथा माननीय श्री शैलेन्द्र बज्राचार्य, पूर्व प्रदेश मन्त्रीज्यू विशिष्ट अतिथि, माननीय सभासद् श्री कृष्ण गोपाल श्रेष्ठज्यू, माननीय सभासद् श्री रणेन्द्र बराइृलीज्यूहरु अथितिको रुपमा उपस्थित उक्त बार्षिक साधारण सभामा अन्य अथिति वर्गहरु सहित नेपाल रत्न–आभुषण महासंघ, नेपाल हस्तकला महासंघ,  नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति, नेवाः दे दबुः लगायतका संस्थाहरुको प्रतिनिधिहरु, सल्लाहकारज्युहरु, जिल्लारनगर सदस्यहरु, देशभरका सुनचाँदी प्रतिनिधि, महिला समुह, युवा समुहहरुको उपस्थिति रहेको थियो ।

बार्षिक साधारण सभाले आ.ब.२०८०/०८१ र आ.ब.२०८१/०८२ को अध्यध्यज्यूले प्रस्तुत गर्नु भएको बार्षिक प्रगति प्रतिवेदन तथा कार्य योजना, महासचिवज्यूको प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदन र कोषाध्यक्षज्यूले प्रस्तुत गर्नु भएको वित्तीय प्रतिवेदनहरुलाई सर्वसम्मतिबाट पारित गरिएको थियो ।

कार्यक्रममा नेगोसिडा प्रशिक्षण केन्द्रमा तालिम प्राप्त गरेका प्रशिक्षार्थी विद्यार्थीहरुलाई प्रमखु अतिथि माननीय श्री मिन बहादुर विश्वकमाज्यूले प्रशिक्षण प्रमाण पत्र प्रदान गर्नु भएको थियो भने सभाका सभापति तथा नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष श्री महेन्द्र रत्न शाक्यज्यूले अतिथिज्यूहरुलाई मायाको चिनो प्रदान गरी कार्यक्रम सम्पन्न भएको थियो ।

साथै बिहानीको सत्रमा नेपाल सुनचाँदी रत्नपत्थर प्रशिक्षण प्रवर्द्धन केन्द्र NGS-TPC (प्रशिक्षण व्यवस्थापन संस्था) को पाँचौ वार्षिक साधारणसभा समेत सम्पन्न भएको थियो ।

नेगोसिडा केन्द्रको सल्लाहकार सभा सम्पन्न

यहि मिति २०८२/४/१२ गते आइतबार नेपाल सुनचाँदी व्यवसायी संघको ३०औं सल्लाहकार सभा होटल सुर्य हेरिटेजमा सम्पन्न भयो। आउँदो १७ गते श्रावण शनिबार टौदहमा हुनलागेको यस संघको ३३ तथा ३४औं साधारण सभाको जानकारि तथा यस संघले लिनुपर्ने आगामी कदमको दिशानिर्देश गर्न तथा विलासिता कर र भ्याट हताउन गर्न सकिने उपायका बारेमा छलफल गर्न यो सभा आयोजना गरिएको थियो।
यस संघका पुर्व अध्यक्ष श्री निरंजन रत्न शाक्यले बिगतको भ्याट  आन्दोलन सफल हुँदाताकाको अवयबहरु तथा सफलताको सुत्र बताउनु भयो। त्यस्तै नेपाल रत्न आभुषण संघका पुर्व अध्यक्ष सुरेशमान श्रेष्ठले भारतमा पनि यस्तै खालको आन्दोलन ५२ दिन सम्म चलेको र सबै व्यवसायीले पूर्ण एक्यबद्द भै आन्दोलन गरेपछि भ्याट खारेज गराएर ३% GST गहनामा मात्र लगाउन बाध्य पारेको सुनाउनु भयो।
त्यस्तै यस संघका संस्थापक तथा सल्लाकार बरिष्ठ व्यवसायी श्री तेज रत्न शाक्यले महासंघले समयमै यस्तो खाले भेला राखेर दर्हो रुपमा समस्या राख्न सकेको भए आजको अवस्थानै नआउने तथा नेपाल ग्रेलिष्टमा जानुमा सुनचाँदी व्यवसायीको कुनै भुमिका नभएको, नेपालमा आयातको तुलनामा निर्यात अत्यधिक भएकोले अर्थतन्त्र बिग्रेको र हालैको आन्दोलन असफल हुनुमा व्यवसायी फुटले काम गरेको तथा नगोसिडा केन्द्रले अब व्यवसायी जुताउन समन्वय गर्नु पर्ने सुझाव दिनु भयो।
पुर्व वाणिज्यमन्त्री तथा सभासद श्री मीन बिश्वकर्माले वहाँ मन्त्री हुँदा सुनचाँदी निर्देशिका र ऐन नियम पारित गराउन पहल गरेको तर महासंघको निष्कृयताले सफल नभएको सम्झनुभयो। वजेट अगाडीको छलफलमा महासंघले विलासिताकै पक्षमा वकालत गरेको र सुनको कोटा बढाउन मात्र जोड दिने खुला अर्थतन्त्र(free economic market) कुराको बिरोध गर्ने गरेको सुनाउनु भयो। बैंकले बिक्रिमात्र गर्ने तर खरिद नगर्ने(buy back) नियमकानुन र ब्यवहारिक समेत नभएको जिकिर गर्नु भयो। बैंकले डलर तथा अन्य बिदेशी मुद्रा खरिद बिक्रि गर्ने तर सुन बिक्रिमात्र गर्ने फिर्ता नलिने पनि सिण्डिकेट हो भन्नुभयो। नेपाल राष्ट्रबैंक भारतसंग भंसार र अन्य करका दर समान गर्न सहमत भएको तर अर्थ मन्त्रालय यस्मा   सहमत नभएको, यद्यपि वार्ता सफल हुनेमा आशाबादी रहको तर वार्ता सफल नभए पुनः आन्दोलन गर्नुपर्ने, त्यस्तोमा पुर्व अग्रज बरिष्ठ व्यवसायीहरुले पनि आन्दोलनमा भाग लिनुपर्ने तथा नेगोसिडा केन्द्रले एकताको समन्वय गर्नु पर्ने कुरा राख्नु भयो।
त्यस्तै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष श्री दिपक मलहोत्राले चेम्बरले सुनचाँदीका समस्या यति गहन होला भन्ने नसोचेको अब समस्याहरु प्रष्टसँग बुझिसकेकोले समाधानको लागि सक्दो पहल गरिने जानकारि दिनु भयो।
उपभोक्ता मंचका अध्यक्ष श्री प्रेमलाल महर्जनज्युले यो उपभोक्ताको समस्या भएको, यस्को पहल उपभोक्तालेनै गर्नुपर्ने, व्यवसायीलाई सरकारले मोहदामात्र बनाएको हो भन्नुभयो। व्यवसायीको माग प्रष्ट रुपमा आएको छ, यहि कारणले व्यवसायीको आन्दोलनमा साथ दिएको हो, तर सम्झौतापत्रमा व्यवसायीको मुख्य माग नै हराएको, व्यावसाय हित भन्दा राजनितिक र व्यक्तिगत स्वार्थ जोडिन थालेपछि उपभोक्तावादी पछि हतेको भन्नुभयो। महासंघ कोटामैमात्र रमाउने नीति लिनथाल्ने, व्यवसायीहरु धेरै सकृय भएपनि महासंघहरु निष्कृय भएकोले आन्दोलन सफल नभएको समेत वहाले खुलाउनु भयो। यदि नेगोसिडा केन्द्रले खुट्टा नकमाइ अगाडि बढ्ने हो भने उपभोक्तावादी पुर्णरुपमा साथ दिन तयार भएको साथै यदि प्रष्ट रुपमा नीति नियम माग्ने, नेपालको स्थापित कानुनलेनै प्रष्ट लेखेकोमा कानुनी उपचार खोज्ने, स्थापित कानुनले सुनलाई सम्पति मानिसकेपछि हामीले विलासिता शब्दै बोल्न छोड्नुपर्ने, धार्मिक र सास्कृतिक काममा चाहिने वस्तु भएकोले विलासातामा सहमत नै हुनुहुदैन भन्ने सुझाव समेत दिनुभयो।
त्यस्तै बाग्मति प्रदेश सभासद शैलेश बज्राचार्यले यो नेपालको खर्चालु चुनावी प्रकृयाको परिणामको उपज हो भन्नुभयो।
यस संघका कानुनी सल्लाहकार श्री ज्ञान रत्न शाक्य महासंघले समयमै अर्थमन्त्रालयमा सुझाव नदिएकोले यो समस्या आएको, तर नेपाल राष्ट्रबैंकमा बैधानिक रुपमा आयातको लागि निबेदन दिनुपर्ने र नदिएमा कानुनी उपचार खोज्नुपर्ने , उपभोक्ता र व्यवसायीले आ-आफ्नो अधिकारको आधारमा सर्वोच्चमा रित हाल्नुपर्ने सुझाव दिनुभयो।
उक्त सभामा पुर्व संस्थापक अध्यक्ष श्री निरंजन रत्न शाक्य, श्री तजरत्न शाक्य, श्री मणिरत्न शाब्य, श्री माणिक रत्न शाक्य, पुर्व मन्त्री मीन बिश्वकर्मा, पुर्वमन्त्रि तथा सभासद विराजभक्त श्रेष्ठ, बाग्मति प्रदेश सभासद श्री शैलेश बज्राचार्य, सल्लाहकार श्री रत्नकमल वैद्य,श्रीमती शोभा बज्राचार्य, पत्रकार श्रीकृष्ण महर्जन, बिपिन रामुदामु, ललितपुर सुनचाँदीका अध्यक्ष सुबिन बज्राचार्य, चेम्बरका बरिष्ठ उपाध्यक्ष दिपक मलहोत्रा, पुर्व रत्न आभुषण संघका अध्यक्ष सुरेश मान श्रेष्ठ, निवर्तमान कागोसिडा अध्यक्ष सुरेशमान शाक्य, उपभोता मंचका अध्यक्ष श्री प्रेमलाल महर्जन, कानुनी सल्लाकार श्री ज्ञान रत्न शाक्य आदीको उपस्थिति थियो।
सम्पुर्ण सल्लाकार अतिथीज्युहरुको एउटै मत चाहिँ, सुनको कोटा खारेज गर्नु पर्ने र खुल्ला अर्थतंत्र बजार मा जान पहल गर्नुपर्ने, व्यावसायीक एकता हुनुपर्ने, नेगोसिडा केन्द्रले त्यस्को पहल गर्नु पर्नेमा थियो।

नेगोसिडा(केन्द्र)को ३३ तथा ३४ औं साधारण सभा सावन १७ गते हुने।

नेपाल सुनचाँदी व्यवसायी संघ(केन्द्र) को ३३तथा३४औं वर्षिक साधारण सभा यहि ने.सं.११४५ गुँलाथ्व अष्टमी तदअनुसार मिति २०८२/४/१७ गते शनिवार टौडह बैंक्वेट तथा रेष्टुरेन्ट , टौडहमा हुने भएको छ। यस संघका नविकरण गर्न बाँकि सदस्यज्युहरुलाई समयमै सदस्यता नविकरण गरि सधारण सभामा उपस्थिती जनाइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
हालैको विलासिता कर तथा भ्याट लगायत विविध समस्याहरुको कारणले इतिहासकै विषम तथा जीवयान्त परिस्थितिमा महासंघहरुको अदुरदर्शि अपुर्ण र असक्षम नेतृत्वको कारणले सम्पुर्ण व्यवसायीहरुलाई थप दासत्व तर्फ धकेलि, स्वच्छ व्यावसायीक वातावरण भत्काएर अपराधिकरण तर्फ लम्काउने र असल व्यवसायीहरुलाई पलायन गराउने हालैका जटिल अवस्थामा आशाको किरण स्वरुप रहेको यो संस्थाको दुईवर्षको वार्षिक साधारणसभा सभ्य तथा भव्य रुपमा हुन गैरहेको छ।
२०५५ सालमा यहि संस्थाको सशक्त र दुरदर्शि नेतृत्वमा यस्तै १३% भ्याट आन्दोलन सफल गरेर लागू भैसकेको भ्याटलाई खारेज गरेको थियो।
तर यसपालि देशभरिका व्यवसायीहरुको अभुतपुर्वसाथ रहदारहदै आन्दोलन विचैमा तुहाएर २% विलासिता र १३% भ्याट लगाउने तथा सुन तथा अझ चाँदीमा समेट सिन्डिकेट लगाउने चलखेल भैरहेको छ।
यो साधारण सभामा सम्पुर्ण पुर्व विशिष्ट अध्यक्षज्युहरु सल्लाहकारज्युहरुको उपस्थिति हुने भएको छ। तसर्थ सम्पुर्ण व्यवसायीहरुलाई पुन: गोलबन्द गर्ने उद्यश्यका साथ सम्पन्न हुनलागेको यो साधारणसभा विशिष्ट र महत्वपुर्ण हुने भएकोले सम्पुर्ण सदस्यहरुलाई आमन्त्रण गरिन्छ।

सुनचाँदी जाँचकी तथा पत्थर पहिचान सम्बन्धी तालिम सम्पन्न

मिति २०८२/३/५ गते देखि संचालन भइरहेको CTEVT र NAVT बाट प्रस्तावित Level 1 अन्तर्गत सुनचाँदी तथा रत्न पत्थर पहिचान सम्बन्धी १५ कार्यदिने तालिम मिति २०८२/३/२४ गते समापन भएको सहर्ष जानकारी गराउँदछौं ।

रिले अनसनमा नेपाल सुनचाँदी व्यवसायी संघको ऐक्यबद्धता

सुन तथा सुनका गरगहनामा २% विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३% भ्याट लगाएको विरोधमा गरिएको रिले अनसनमा ऐक्यबद्धता जनाउँदै पदाधिकारीहरु

तालिम संचालन भैरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघ(केन्द्र)ले यहि मिति २०८२/०३/०५ देखि सुनचाँदी तथा रत्नपत्थरको नियमित तालिम संचालन सुरु गरेको छ। विगत १५ वर्षदेखि सुनचाँदी पहिचान सम्बन्धि तालिमहरु नियमित रुपमा संचालन गरिरहेको यससंघले यसपालि रत्नपत्थर पहिचान थप गरि पाठ्यक्रम तयार गरेको छ। यो तालिम अवधि १५ दिन सम्म संचालन हुनेछ।
CTEVT को मान्यता प्राप्त यो संस्थाले अझै अग्रगामी हुँदै हालै राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिस्थान(NAVT) को सम्बन्धन पनि प्राप्त गरेर पाठ्यक्रम समेत तयार गरिसकेको छ। निकट भविष्यमा यो पाठ्यक्रम अनुसारको तालिम पनि शुरु हुने सहर्ष जानकारि गरादछ।

प्रशिक्षणको लागि यथाशक्य छिटाेसम्पर्क गर्नुहुन ।

असार ५ गतेदेखि नेपाल सुनचाँदी व्यवसायी संघ(केन्द्र)ले असार ५ गतेदेखि प्रशिक्षण संचालन गर्ने भएकाले छ ।

साे तालिमकाे लागि भर्ना शुरु भैसकेकाे एवं सिमित सिटमात्र बाँकि भएकाेले

इच्छुक महानुभावहरुले यथाशक्य छिटाे नेगाेसिडा प्रशिक्षण केन्द्रमा सम्पर्क गर्नुहुन अनुराेध गरिन्छ ।

बजेट तथा यस्ले उपभोक्ता बजारमा परेको प्रभाव विषयक अन्तरकृया

नेपाल सुनचाँदी व्येवसायी संघ(नेपाल सुनचाँदी व्येवसायी महासंघको मुख्य सस्थापक एवं जन्मदाता संस्था)ले नेपाल जस्तो खुल्ला अर्थतन्त्र अंगालेको राष्ट्रले नेपाल राष्ट्र बैकबाट बिगत १३ बर्षदेखी लगाइरहेको कोता प्रणालीलाई राष्ट्रिय लज्जाको रुपमा ब्याख्या गर्दै शुरूवातका दिन देखि बिरोध गर्दै आईरहेका थियौं।हामीहरुलाई तोकिएको/दिईएको सुनको कोता प्रणाली र बितरणमा संस्था सहभागी नभै खुल्ला अर्थतन्त्र अनुसार सुनचाँदी ऎन,नियम,कारोबार मापदण्ड निर्देशिकाको माग पनि गर्दै आएका छौ।यसै सन्दर्भमा नेपाल सरकारद्वारा आ.ब.२०८२/८३को बजेतमार्फत सुनचाँदी तथा रत्न-पत्थरका गरगहनामा बिलासिता कर२% र मुल्य अभिबृध्दी कर १३% लगाउने बारेमा नेपाली काग्रेस,आपूर्ति तथा उपभोक्ता बिभागद्वारा आयोजित यसपालीको “बजेत तथा यसले उपभोक्ता बजारमा परेको प्रभाव”बिषयक अन्तरक्रिया कार्यक्रममा संस्थाको तर्फबाट आफ्नो बिरोध तथा सुझावहरु प्रस्तुत गरेका छौ।

क्याम्बाेडीया भ्रमण

क्याम्बोडिया जेम्स एण्ड ज्वेलरि ट्रेडर्स एसोसियसनकाे मैत्रिपुर्ण निमन्त्रणामा नेपाल सुनचाँदी व्यवसायी संघ( केन्द्र)ले 2025 may 15-18 सम्म आयोजित १६ औं क्याम्बोडिया अन्तरराष्ट्रिय जेम्स एण्ड ज्वेलरि फेयरमा सहभागि भयो। उक्त कार्यक्रम क्याम्बाेडीयाकाे राजधानी न्हाेन्फे (Phnom penh) मा भएकाे थियाे ।
क्याम्बोडियाका उप-प्रधानमन्त्री Sok Chenda Sophea को प्रमुख आतिथ्यमा संचालित उक्त फेयरमा क्याम्बोडिया जेम्स एण्ड ज्वेलरि ट्रेडर्स एसोसिएसनका अध्यक्ष Nheth Sreyoum ले स्वागत भाषण गर्नु भएको थियो। नेपाल लगायत मलेशिया, थाइल्यान्ड , जापान, भियतनाम , इन्दिया, हङकङ आदि देशका प्रतिनिधिहरुले उक्त कार्यक्रममा भाग लिएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी संघको तर्फबाट अध्यक्ष श्री महेन्द्र रत्न शाक्यज्युकाे नेतृत्वमा सह-सचिव श्री अष्ट राज शाक्य, सह कोशाध्यक्ष श्री उमेश शाक्य, कार्यकारि सदस्य श्री कृष्णगोपाल श्रेष्ठले उक्त कार्यक्रममा  सहभागि हुनुभयो। साथै आयोजक संस्थाको विशेष निमन्त्रणामा यस संस्थाका पदाधिकारिहरुका अर्धांगिनीज्युहरुले पनि कार्यक्रममा सकृयताकासाथ भाग लिनुभयो।
नेपाल सुनचाँदी व्यवसायी संघको तर्फबाट श्री महेन्द्र रत्न शाक्यले सभालाई सम्बोधन गर्नुभएको थियो।आशियान मुलुकहरुको सुनचाँदी तथा रत्न व्यवसायीहरुको आपसि सम्बन्ध सुमधुर बनाएर गहना बनाउने तालिम, रत्न पत्थरहरुको कटिङ र आपसि व्यवसाय प्रवर्धन गर्ने प्रमुख लक्षका साथसाथै क्याम्बोडियाले विदेशि पर्यतक प्रवर्धनको पनि लक्ष लिएको देखिन्छ।
पहिलो दिन सम्पुर्ण आमन्त्रित पाहुनाहरुबाट सामुहिक रुपमा रिबन काटेर समुदघाटन, दोश्रो दिन आमन्त्रित पाहुनालाई सिटिटुर र बेलुका आमन्त्रित पाहुनाहरुले सम्बोधन भाषण र अन्तिमदिन फेसन शो गरेर उक्त कार्यक्रम समापन गरिएको थियो।

  1. नेपाली महिला सहभागिहरुका आकर्षक पहिरणका कारण वहाँहरुलाई क्याम्बोडियाको राष्ट्रिय टेलिभिजनले महत्वकासाथ प्रसारणगरेको थियो अनि फेशन शोमा र्याम्पमा प्रस्तुतिकरण दिने मोडल लगायत सम्पुर्ण आयोजक, आमन्त्रित सदस्य लगायत सम्पुर्ण सहभागिहरुले कार्यक्रम भरि नेपालबाट प्रतिनिधित्व गर्ने महिला सहभागिहरुको ठेत नेवारि पहिरण हाकु पातासिको प्रसंसा गर्नुकासाथै फोटो खिच्न आग्रह गरेका थिए।
    नेपाल सुनचाँदी व्यवसायी संघ(केन्द्र)को गत वर्ष भारत र यसवर्ष काम्बोडिया भ्रमणले यस संस्थाको अन्तर्राष्ट्रिय सम्बन्ध थप मजबुत बन्दै गैरहेको छ, नेपालमै पहिलोचोटि सिटिइभिटी सम्बन्धन लिएको र निकट भविष्यमै राष्ट्रिय प्रशिक्षण प्रतिस्थान (NAVT) सँगको MOU अनुसार पाठ्यक्रम तयार गरि राष्ट्रिय रुपमा मान्यता प्राप्त तालिमहरु संचालन गर्ने जमर्को गरिरहेको यो संस्थाको गरिमा यसपल्टको क्याम्बोडिया भ्रमणले झन उच्च बन्दै गैरहेको स्पष्ट छ।