संस्थाको परिचय सहित प्रशिक्षण कार्यक्रमको विस्तृत विवरण

२०५९

२०५९ साल  फागुन ३० गते देखि नेपाल सुनचाँदी व्यवसायी संघ, केन्द्रीय कार्यालय अन्तर्गत नेगोसिडा प्रशिक्षण केन्द्रको स्थापना भई तालिम कार्यक्रमहरु संचालन भईरहेकोे जानकारी गराउन चाहन्छौं । तालिम प्रदान गर्दा आईपर्ने विभिन्न किसिमका प्रशासनिक अप्ठ्याराहरु, नीति निर्माण तथा अन्य समस्याहरुको तत्काल समाधान गर्न सहज होस् भनी नेपाल सुनचाँदी व्यवसायी संघ, काठमाडौं सुनचाँदी व्यवसायी संघ तथा नेपाल गोल्ड सिल्भर ट्रेनिङ्ग प्रमोसन सेन्टरबाट अख्तियार प्राप्त दक्ष व्यक्तित्वहरुको प्रतिनिधि रहेको बिशेष अधिकार प्राप्त स्वायत्त प्रशिक्षण समितिको समेत गठन गरी कार्य सम्पन्न भईरहेकोछ ।

यस प्रशिक्षण केन्द्रको स्थापना संगसगै देशमा भएको विभिन्न प्राकृतिक तथा राजनैतिक परिवर्तन तथा विश्व भर फैलिएको COVID-19  को महामारीले गर्दा सुनचाँदी व्यवसाय र समग्र बजारमा कालिगढ अभाव सम्बन्धी देखिएको समस्या न्यूनिकरण गर्ने प्रयास स्वरुप नेगोसिडा तालिम केन्द्रले सुनचाँदी कालिगढ र व्यवसायीहरुको सिप विकासको लागि नेपाल सरकारको मान्यता प्राप्त प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को ८९० घण्टाको पाठ्यक्रम र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (NAVT) को ३९० घण्टाको छोटो अवधिको पाठ्यक्रम तयार गरी Level 1 का कक्षाहरु तथा रत्न पत्थर पहिचान सम्बन्धी कक्षाहरु पनि संचालन गरिरहेकाछौं ।

यस तालिमबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेपालमा सुनचाँदीका गरगहना बनाउने कालिगढहरु दक्ष र निपुण रुपमा निर्माण हुने र बार्षिक रुपमा बाहिरी देशमा न्युन पारिश्रमिकमा गइरहेको नेपाली कामदारहरुलाई केही मात्रामा भए पनि स्वदेशमै रोजगार उपलब्ध गराउने मुख्य उद्देश्य लिएका छौं । साथै विदेशमा काम गर्न जाने युवाहरुलाई पनि तालिम लिए पश्चात प्राप्त हुने दक्षताको प्रमाणपत्रको आधारमा राम्रा अवसरहरु पाउने अपेक्षा गरेका छौं ।

त्यस्तै प्रशिक्षक र प्रशिक्षार्थीहरुको तथ्याङ्कहरु संकलन गरी सुरक्षित राखिएको छ । यसबाट संभावित रोजगारीको अवसरको लाभ लिने गरी संस्थागत पहल भइरहेको छ । CTEVT र NAVT बाट आवश्यक सहयोग प्राप्त भै हालै मात्र CTEVT अन्तर्गत Skill Test Assessor Trainer  का रुपमा सुनचाँदी मुल्यांकनकर्ताहरु चार जना, नेपाल कै पहिलो सुनचाँदी सम्बन्धी पाठ्यक्रम निर्माण गर्ने बिशेषज्ञका रुपमा दुई जना र प्रशिक्षक प्रशिक्षण तालिम (ToT) दुई जनाले प्राप्त गरी प्रमाण पत्र लिई सक्नुभएको छ ।

कक्षा संचालन गर्नका लागि कागोसिडा, NGS-TPC प्रशिक्षण भवनमा सुनचाँदी सम्बन्धी प्रशिक्षण कक्षा कोठाहरु, प्रयोगशाला, स्वागत कक्ष, प्राध्यापक कक्ष, प्रयोगात्मक कक्ष, बैंठक कक्ष, पाहुना कक्ष, चमेना गृह लगायत सम्पुर्ण भौतिक पूर्वाधारहरु निर्माण सम्पन्न गरिसकेका छौं ।

सुनचाँदी तथा रत्न पत्थर प्रशिक्षण कार्यको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गरी स्वदेशी वा विदेशी विज्ञहरुलाई प्रशिक्षण केन्द्रको भवनमा आवास गृहको सुविधा सहित प्रशिक्षण कार्यक्रम संचालन गर्ने उदेश्य रहेको छ । साथै सुनचाँदी र रत्न पत्थर सम्बन्धी तालिमका लागि चाहिने अत्याधुनिक परिक्षण गर्ने मेशिनहरु सरकारी स्तरको अनुदान सहयोग वा आफ्नै सहयोगी संस्थाहरुको अनुदान सहयोगबाट प्राप्त गरि प्रशिक्षण कार्यलाई अगाडी बढाईरहेका छौं ।

काठमाडौं उपत्यकाको एउटा अबिकसित, बेरोजगार र कमजोर आर्थिक अवस्था भएको एक आधार सुनचाँदी कालिगढ, सुपरभाईजर उत्पादन गाउँ पहिचान गरी उक्त गा.वि.स./पालिकासँग समन्वय र जमानत प्राप्त गरी युवा प्रशिक्षार्थीहरु छनौट गरी पहिलो चरणमा उक्त प्रशिक्षण आधार क्षेत्रबाट बेरोजगार युवाहरुको सहभागितामा सुनचाँदी र रत्न पत्थरको अभिमुखिकरण कक्षाहरु संचालन गरिरहेका छौं ।

हाल संस्थाले कागोसिडा, NGS-TPC प्रशिक्षण भवन, कुसुमबियालाछी–२५, ठँहिटी, काठमाडौंबाट सुन जाँचकी तथा बहुमुल्य रत्न पत्थर पहिचान सम्बन्धी तालिमहरु संचालन गरिरहेका छौं । इच्छुक प्रशिक्षर्थी महानुभावहरुले संस्थाको कार्यालय अथवा आधिकारीक वेबसाइत www.negosida.org मा रहेको तालिम सम्बन्धी फाराम भरी उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछौं । २ हप्ते तालिमका लागि रु.२५,०००/- शुल्क तथा सुरक्षण जमानत बापत रु.१०,०००/- गरी जम्मा ३५,०००/- भुक्तानी गरी सहभागी हुन सक्नु हुनेछ । तालिम पश्चात सुरक्षण जमानत बापत प्रदान गरिएको रु.१०,०००/- फिर्ता भुक्तानी गरिनेछ ।

प्रशिक्षण कार्यक्रम सम्बन्धी थप जानकारी लागि संस्थाका कर्मचारीहरु श्री हेबेन्द्र शाक्य, बरिष्ठ प्रशाक वा श्री हरि शरण मगर, कार्यालय सचिवलाई फोन नं ०१–५९१४६८८, ०१–५९१९५६६, ९७६३६९३३४४ मा सम्पर्क गरी थप जानकारी प्राप्त गर्न सक्नु हुनेछ । प्रशिक्षण तालिममा सहभागी हुन इच्छुक सदस्य व्यवसायीहरुलाई बिशेष ग्राह्यता दिइनेछ । महिला प्रशिक्षर्थीहरुलाई २0% तथा अपाङ्गता भएका प्रशिक्षार्थीहरुलाई ५०% छुटको व्यवस्था रहेको छ । प्रशिक्षण पश्चात प्रशिक्षार्थीहरुलाई रोजगारको सुअवसुर पनि प्रदान गर्न सकिने छ ।

सुनचाँदी र रत्न पत्थर सम्बन्धी बिशेष तथ्याङ्क संकलन गरी स्वदेश तथा विदेशमा रोजगारको अवसरको लागि बिशेष पहल गरिनेछ ।

प्रशिक्षक प्रशिक्षण तालिम (ToT) कार्यक्रम सम्पन्न

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (NAVT) को आयोजनामा मिति २०८२/८/८ गते देखि २०८२/८/१८ गतेसम्म १० दिने  प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्राविधिक प्रशिक्षण प्रतिष्ठान (TITI), सानोठिमी, भक्तपुरको हलमा सम्पन्न भयो ।