Message from Chairman

Message from Chairman
श्री महेन्द्र रत्न शाक्य Chairman

आवद्ध आदरणिय सदस्य साथीहरु,

नेपालको आर्थिक, सामाजिक, धार्मिक, आधुनिक रीतिथिती र सांस्कृतिक संस्कारजन्य परम्परमा समेत प्रयोग भईरहेका सुनचाँदी तथा यसमा जडान हुने बहुमूल्य रत्न पत्थर समेतको निर्माण गर्ने हामी कालिगढ, शिल्पकार र बजार निर्माताहरु सदियौ देखि पुश्तैनी पेशा व्यवसायीका रुपमा नेपाल लगायत बिश्वका सुनचाँदी बजारमा अत्यन्तै विश्वसनियता कायम गरी कारोबार गरि रहेका छौं। तर यस क्षेत्रले आन्तरिक बजारमा हालसम्म स्पष्ट नीति, ऐन, कानुन र कारोबार, मापदण्ड निर्देशिका प्राप्त नगर्दा व्यवसायीहरुले कुन आधारमा आफ्नो व्यवसाय चलाउने भन्ने अन्यौलताले गर्दा र त्यहि अन्यौलतामा प्रशासनिक दण्ड सजाय भोग्नु पर्दा व्यवसायीहरु आतंकित र त्रस्त भई कारोबार गर्न बाध्य भइरहेका छौं। स्पष्ट नीति र नियमका अभावमा हालै देशब्यापी रुपमा व्यवसायीहरुलाई झुठा मुद्दा हालिएको छ, खानतलाशी भनेर सम्पूर्ण पूँजी र गरगहनाहरु जफत गरिएको छ, व्यवसाय र व्यवसायी नै गलत भनेर नकारात्मक झूठा समाचारहरु सम्प्रेषित भएको छ । यसलाई उचित रुपमा सम्बोधन र समाधान नभईरहेको अबस्थामा सम्पूर्ण व्यवसायीहरुले अहिले सामाजिक तिरस्कार र लान्छनाहरुलाई सामना गर्दै बस्नु परेको अवस्था सृजना भएको छ ।

त्यसैले सर्वप्रथम यो पेशा व्यवसायलाई अझ मर्यादित अनुशासित, उद्योग उन्मुख र राजस्वमैत्री बनाई ऐन नियम कानुन निर्माण गर्दै व्यवसाय सुरक्षित बनाउनको विकल्प छैन । यसका लागि हामी यस जिल्लामा आवद्ध सम्पूर्ण व्यवसायी मित्रहरुलाई सुनचाँदी र बहमूल्य पत्थर सम्बन्धी नीति निर्माण र अन्यौलग्रष्ट बजारको अन्त्यको लागि हामीसंग हातेमालो गर्दै सम्पूर्ण बजारको एकताको लागि प्रतिवद्ध हुन हार्दिक आहवान गर्दछौं ।

विद्यमान सुनचाँदी बजारको नीति निर्माणको लागी संघिय गणतन्त्र नेपालको सात वटै प्रदे शहरुमा सचेतना कार्यक्रमहरु संचालन भई रहेको छ भने प्रदेश मुख्य मन्त्री लगायत सभामूख र सम्बन्धित बिभागिय मन्त्रीज्यूहरुलाई समेत ज्ञापन पत्र र अनौपचारिक भेटघाट गरी नीति निर्माणको लागि पहल गर्न हार्दिक अनुरोध गरिसकेको अवस्था छ ।

अतः यस बजारको ऐतिहासिक समयमा हामी सम्पूर्ण व्यवसायी मित्रहरुलाई यस पुस्तकमा संस्थाले हालसम्म नीति निर्माणमा गरेका महत्वपूर्ण दस्तावेजहरु मापदण्ड, नियमावलि, सुन आयात निर्यात व्यवस्था, संस्थाको नियमावली, सदस्य सेवा र सुविधाका लागि वडापत्र, कर प्रशासनको जानकारीमुलक लेखहरु लगायत अन्य सामाग्रीहरुलाई व्यवसाय मैत्री हुनेगरि अनिवार्य स्व-अध्ययन गर्नुहुन हामी विशेष अनुरोध गर्दछौ। यस सुनचाँदी बजारमा प्रवेश गर्न लागेका भावी युवा पुश्तालाई समेत हामीले उत्प्रेरणा दिएर अनुसाशित र मर्यादित सुनचाँदी, रत्न पत्थर व्यवसाय हस्तान्तरण गर्न सक्ने बातावरण बनाउनका लागि महासंघ, संघ र आवद्ध सदस्यहरुले आ-आफ्नो क्षेत्र, सम्पर्क सूत्र र पूर्ण समर्थन सहित बजार सुद्धिकरणको यस महाअभियानमा हातेमालो गर्दै ऐतिहासिक पहल गर्नु हुन हुन अनुरोध छ। अन्तमाः हामी यस नीति निर्माणका कार्य क्षेत्रमा आफ्नो व्यवसाय र व्यवहारलाई स्थगित गरी अहोरात्र खतेका सचेत व्यवसायीहरुप्रति पूर्ण समर्थन गरी प्रतिवद्धता प्रकत गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछौं ।

सदैब यहाँहरुको उत्तरोत्तर प्रगति र आर्शिवादको शुभकामना प्राप्त गर्ने विश्वासमा ॥