©राजष्टरे
बहुमुल्य धातु, सुन/चाँदीका गहना बनाउदा जर्ति(making loss/ wastage) जान्छ कि जादैन भन्ने बिषयमा हाल नेपालमा निक्कै बहस हुने गरेको छ। गहना निर्माण प्रकृयाको सामान्य जानकारि समेत नभएका केही ठुला व्यापारिक घरानाले हालैका दिनमा सुनका गहना निर्माण प्रकृयामा जर्तिनै जादैन भनेर हल्ला गरेपछि आम सर्वसाधारण लगायत सम्बन्धित विभागका केही उच्च पदस्त कर्मचारिहरुले समेत गहना निर्माण प्रकृयामा जर्ति जान्छ कि जादैन भन्ने विषयमा अत्यन्त बढी चासो राख्न थालेको देखिन्छ।
वास्तवमा जर्ति(making loss/wastage) भनेको के हो त?
जर्ति भनेको कुनैपनि गहना बनाउदा,निर्माण गर्दा खिइएर,धुलोको कण भएर, गलाउँदा क्षय भएर जाने भागलाई भनिन्छ। गहना निर्माणमा निश्चित रुपले जर्ति जान्छ , कति जान्छ त? भन्ने सवालमा चाहिँ गहनाको प्रकृति,डिजाइन, फिनिशिङ,सुनको क्यारेट र जटिलतामा भर पर्छ। सामान्यतया हस्तकलाका गहनामा भन्दा मेशिनबाट बन्ने गहनामा कम जर्ति जान्छ तर उत्पादनको मात्रा उच्च हुनुपर्छ, कम मात्रामा उत्पादन भयोभने लागत बढी पर्न जान्छ, जर्ति पनि बढीनै जान्छ । सुनको शुध्दता(karat) ले पनि जर्ति जाने प्रकृयालाई फरक पार्न सक्छ। सामान्यतया बेरुवा रिं औंठीमा ०.२५% जान्छभने अन्य गहनाको हकमा गहनाको जटिलता अनुसार १२-१३% सम्म जर्ति जान सक्छ, तर चलनचल्तीका सामान्य गहनामा २%देखि ६% सम्म जान सक्छ।
विकसित मुलुकहरुमा अधिकांश गहनाहरु मेशिनको प्रयोगले कम क्यारेटका २२-१८-१४ क्यारेटका बनाउने गरिन्छ भने नेपालमा त्यसको ठिक विपरित हास्तकलाको माध्यमबाट २४ क्यारेट शुध्दताका गहना बनाइन्छ, जनमानसमा त्यहि लोकप्रिय छ। २४ क्यारेटका गहना बनाउने क्रममा बढी जर्ति जान्छ तर पलिश फिनिशिङमा धेरै नघोटिने हुनाले फिनिशिङ तिर कम जर्ति जान्छ, २४ क्यारेटका गहनामा धेरै चमक ल्याइदैन । किनकि २४ क्यारेटकाे सुन एकदमै नरम(२.५ कडापन) हुने हुँदा गहना निर्माणको प्रकृयामा फलामका औजारहरुसँग घर्षणको क्रममै बढी क्षय भैसकेको हुन्छ। त्यस्तै ढालेका(casting,मेशिनमेड) गहनाहरु कम शुध्दता(२२-१८karat) मा बनाइने भएकाले गहनामा गाल्ने क्रममा ,पालिश, सेटिङ फिनिशिङमा धेरै जर्ति जान्छ। कम क्यारेटका सुन कडा हुनेहुदा धेरै राम्रो चमक आउँछ। चकमताको लागि धेरै घोट्ने गरिन्छ।
अहिले एकाइसौं शताब्दीका ए आईको दुनियाँमा हुर्केका नयाँपुस्ता र सम्बन्धित विषयमा अज्ञानता भए सो बिषयवस्तुको बारेमा सर्च गरेपछि एआईले टक्क जवाफ खोजिदिएस्तै सुन मेशिनमा राख्ने बितिक्कै भनेको डिजाइनका साइजका गहना एटीएम मेशिनबाट नोट झरेझैं ठ्याक्क झर्छ भन्ने सोचेको हुनसक्छ। नत्र त वर्षौंको कडा मेहनत र तपस्याले खारिएका कालिगडले बनाएका सुनचाँदीका गहनामा जर्तिनै जादैन भनेर बहस गर्नुनै बेकार हो। मेशिनको प्रयोगले बन्ने हुन् वा हातले परम्परागत तरिकाले बन्ने गर-गहना हुन्, सबै गहना बानाउदा औजारको प्रयोग हुन्छ। रेटघोट पालिश गर्नै पर्छ,त्यसक्रममा जर्ति जाने हो। गर-गहनाको भनेकै श्रिङ्गारका सामान हुन्,त्यसैले यसका डिजाइनहरु अत्यन्त परिबर्तनशिल हुन्छन्,यस्को उत्पादनमा गरिने मेहनत, सीप र रच्नात्मकता,बनाईने तरिका, डिजाइनहरु र त्यसमा आकर्षण थप्न गरिने कालिगरिता अत्यन्त व्यापक हुन्छ,त्यसैले कुन गहनामा कति जर्ति जान्छ ठ्याक्कै भन्न गारो हुन्छ। कस्तो खालको गहना कस्तो मेशिनमा बन्छ र कुन कुन प्रकृयाले बन्छ भन्ने जान्न जोसुकैले युट्युबमा सर्च गरेर हेर्न पनि सकिन्छ। तैपनि वस्तुगतरुपमा उपभोक्ताले सामान्य प्रचलित गहनाहरुको माग गर्नेहुनाले र स्वतन्त्र बजारमा प्रतिपर्धात्मक रुपमा कम ज्याला जर्ति कायम गर्नु व्यवसायीको बाध्यता र धर्म हुन्छ भने उपभोक्ताको चाहिँ अधिकारै हो। यहि क्रममा नेपालमा प्रचलित गहना कुन कुन प्रविधिबाट बन्छ भनेर यसमा प्रकाश पार्न कोसिस गरेको छु।
नेपालमा मुख्यरुपमा ३ प्रकारबाट गहना निर्माण गरिन्छ।
१)हस्तकलाका माध्यम
२) मिस्रितकला माध्यम(मेशिन तथा हस्तकला)
३) मेशिनका माध्यम
१) हस्तकला माध्यम:- नेपालका प्राय: सम्पुर्ण मौलिक गर-गहना हस्तकलाकै माध्यमले बनाइन्छ। हत्था छिना सनासो कैंचि इत्यादी औजारहरुको प्रयोगगरि बनाइने तिलहरि, जन्तर, क्लिप, बुट्टे चुरा बाला, पंचरत्न चुरा बाला, हँसुली, तायो, अनि ठाउँ अनुसारका विभिन्न जनजातिका मौलिक गर-गहनाहरु प्रायः हस्तकला निर्मितनै हुन्छन्। सुनको अत्यन्तै पातालो गेजमा बनाइने यस्तो गहनामा मेशिनको उपयोग नगन्यमात्र हुन्छ, एउटै थरिका जनजातिले पनि ठाउँ प्रदेश अनुसार फरक डिजाइनका गहना लगाइने भएकाले सायद नेपाली मौलिक गहनाको लागि मेशिनै बनाउन पनि असम्भव हुनसक्छ। यस्तो गहनाकाे निर्माणको लागि सिध्दहस्त कालिगढको आवश्यक्ता पर्छ र जर्ति पनि गहनाको बुट्टा र फिनिसिङ अनुसार अलि बढीनै जान्छ।
२) मिस्रितकला माध्यम:- यो माध्यमबाट उत्पादन गरिने गर-गहना नेपालमा सबैभन्दा धेरै उपयोग गरिने गहनामा पर्छन्। नेक्लेश, हार, झुम्का, अौंठी सिक्रि बाला इत्यादी यस्तो माध्यमबाट तयार गरिन्छ। मेशिनबाट विभिन्न डिजाइन अनुसारका , भिन्न भिन्न साइजका ठप्पा साँचोहरुको समिश्रणबाट सुनका पातामा बुट्टा निकालिन्छ। डिजाइन अनुसार सुनका बल, टीका,सिक्रि छुट्टाछुट्टै रुपमा बनाएर हज्जारौं टुक्राहरु जोडेर हार, झुम्का औंठी निर्माण गरिन्छ। यस्तो गहना निर्माणमा एउटै गहनाको लागि ५ देखि ७ जनासम्म छुट्टाछुट्टै विभागका कालिगडको आवश्यकता हुन्छ भने ६/७ थरिका मेशिनको प्रयोग हुन्छ । धेरैजनाको सम्पर्कबाट गहना बन्ने भएर जर्ति पनि बढीनै जान्छ।
३) मेशिनका माध्यम:- यस माध्यमबाट बन्ने गहना विकसित देशबाट आयातित डिजाइनका गहना हुन्। नेपालमा औंठी, टप नेक्लेशहरु ढलाई(casting) प्रकृयाबाट अत्याधुनिक CAD/CAM मेशिनबाट डिजाइन गरेर बनाउने प्रविधि आइसकेको छ। यो प्रविधिबाट गहना बनाउदा ढलाई(casting) गरिसकेपछि गहनाको दुरुस्त स्वरुप आउने भएपछि तुलनात्मकर रुपमा कम जर्ति जानू पर्ने भएपनि ढलाई गरिसकेपछि साइज,तौल मिलाउन तथा चिल्ल्याउनको लागि रेट्ने घोट्नुपर्ने र पलिस पत्थर जडान गर्ने कार्यमा धेरै जर्ति जान्छ। मेशिन सिक्रिको भिन्न भिन्न डिजाइनको लागि छुट्टाछुट्टै मेशिन चाहिने भएकाले लागत अतिधेरै पर्ने र लगानी अनुसारको बजार नपाइने हुनाले नेपालमा प्रचलित केहि डिजाइन बनाउने मेशिनमात्र उपलब्ध छ, त्यहि अनुसार उत्पादन हुन्छ। मेशिनबाट सिक्रि उत्पादन गर्ने भने पनि स्वचालित रुपमा बन्ने भएपनि, ढिक्का सुनबाट लामो तार तानेर हज्जारौं टुक्रा बनाएर क्रमिकरुपमा मेशिनले बुनेर जोडेर उत्पादन हुने हुनाले मेशिनमै पनि राखेको जतिपुरै सुनको सामान तयार हुदैन, जर्ति जान्छ, तर तुलनात्मक रुपमा हातले बुनेर बनाउने भन्दा कम जान्छ।
नेपालमामात्र हैन विश्वमै गर-गहना निर्माण र उत्पादनमा जुनसुकै प्रकारका, हस्तकला होस वा मेसिन प्रयोग गरोस्, उक्त गहना तयार गर्न अनिवार्य रुपले निम्न चरणहरुबाट गुज्रनु पर्दछ।
१) ढिका सुन गाल्ने, वा खार्ने:- यस प्रकृयामा केही प्रतिशत क्षय हुनसक्छ ।
२) कटिङ:- सग्लो ढिका सुनलाई लामो पाता वा तार बनाएर वा डिजाइन अनुसारको टुक्रा पार्नु पर्छ।
३) रेटि र फाइलले घोटेर काटेर अनावश्यक भाग हताउने मिलाउने गर्नु पर्छ।
४) अन्तिम स्वरुपको गहनालाई चमक ल्याउन रसायनहरु (जस्तै सल्फ्युरिक,नाइट्रिक एसिड आदि) मा पकाउनु पर्ने हुन्छ। जुन जर्ति जाने मुख्य कारक तत्व हो।
५)पालिश कटिङ:- गहनालाई आकर्षक बनाउन मुख्य निर्माण प्रकृया सकेपछि तारको ब्रश वा पलिशग्रेन ड्रम मेशिनमा पलिश गर्नु पर्छ। यस अन्तर्गत आवश्यकता अनुसार थप चम्काउन चिल्याउन बफ मेशिनमा घोट्नु पर्ने,मेशिनले कटिङ गरेर चम्किलो बुट्टा भर्नुपर्ने हुन्छ।
६) रत्न पत्थर जडाउ गर्नुपर्ने गहनामा रत्न पत्थर जडान गर्ने क्रममा पनि थप केही जर्ति जान्छ।
नेपालमा लगाइने केही प्रकारका सुनका गहनाको उत्पादन मेशिनबाट भएपनि एउटै मेशिनले सम्पुर्ण प्रकारका गहना तयार गर्ने मेशिन हालसम्म कहिंपनि बनेको छैन, बरु एउटा गहनाको लागि धेरैवटा मेशिनको प्रयोग गर्नुपर्ने हुनसक्छ। यहाँ बुझ्नुपर्ने अर्को के छ भने, चाहिएको निश्चित तौलको गहना तयार गर्न त्यस्को २५ देखि २००% सम्म थप तौल राख्नु पर्ने हुनसक्छ। जस्तै१० ग्रामको एउटा औंठि तयार गर्न १२.५ ग्राम सुन(चापन) राखेर बनाउनु पर्दछ, त्यस्मा रेटघोट र अनावश्यक भाग काट्दा चहिएको तौलका गहना तयार हुन्छ। यस प्रकृयामा थपिएको चापन सहित १२.५ ग्राम सुनमै जर्ति जान्छ। मेशिनको प्रयोग गरि बनाइने ठप्पासिक्रि (विशेष प्रकारको डाइस) बनाउन २००% सम्म थप चापन राख्नु पर्ने हुन्छ, १० ग्रामको सिक्रि तयार गर्न ३० ग्राम सम्म सुन चलाउनु पर्ने हुन्छ। यी त सामान्य उदाहरण हुन् , माथि उल्लेख गरिए जस्तै गर-गहना निर्माणको क्षत्र अन्त्यन्त परिवर्तनशिल व्यापक छ।
दुई ठुला औद्योगिक राष्ट्रबिचको हाम्राे देशको गहनाको सानो माग अनुसार औद्योगिक रुपमा अर्बौं लगानी गरेर उद्योग स्थापना गर्न सम्भव छैन, फेरि नेपाल सरकारको निति पनि यो व्यवसाय फस्ताउने गरि कहिलै आएको छैन।
नेपालमा बिगतका दशक सम्म खासगरि मध्यम र निम्न मध्यम वर्गले बेरुवा रिं, बेरुवा औंठि, बेरुवा चुरा, सादा सिक्रि गहनाका रुपमा प्रयोग गर्ने गरेको पाइन्छ,जुन गहनाकम सम्पत्तिको रुपमा बढी जोहो गर्ने चलन थियो। जटिल डिजाइनका गहनामा ज्याला जर्ति धेरै खर्च हुन्छ भन्ने ज्ञान त्यसबेला रहेको पाइन्थ्यो भने उच्च मध्यम वर्ग, उच्च वर्गले आधुनिक डिजाइनका बहुमल्य रत्न पत्थर जडित गर- गहना लगाउथे। तर अहिले प्राय सबै वर्गका ग्राहकले अत्याधुनिक नयाँ नयाँ डिजाइनका गहना फेसनका रुपमा लगाउने प्रचलन छ, सामान्य आयश्रोत भएका व्यक्तिले पनि बहमुल्य पत्थर जडित गहना लगाउने गरेको पाइन्छ। त्यस्तो गहनामा जर्ति ज्यालाको खर्च बढीनै हुन्छ। यस्तोमा व्यवसायीले महँगो र अनुचित जर्ति लियो भन्ने आवाज उठेको पाइन्छ। तर हाम्रो जस्तो स्वतन्त्र र आवश्यक्ता भन्दा बढी व्यवसायी र कालिगड भएको ठाउँमा प्रतिस्पर्धि बजार हुने हुनाले महँगो जर्ति ज्याला लिन सम्भव होला जस्तो लाग्दैन, बरु गुणस्तरमा सम्झौता गरेर सस्तो सामान दिने कुरामा ध्यान दिनु उचित हुन्छ।
अब नेपालमा व्यवसायीहरुले लिने ज्याला जर्ति उचित छ कि छैन भन्ने प्रश्न पनि आउँछ । यहाँ व्यवसायी २ वर्गका छन्, परंपरागत रुपमा आफै गहना निर्माण गरेर पसल गरि बसेका र ठुला व्यापारिक घराना जुन अन्य व्यवसायबाट पोर्टफोलियो विविधिकरणको क्रममा सुनचाँदी व्यवसायमा आएका हुन्। यहि २०८१ असार मसान्त अघिसम्म जर्तिको बारेमा बिबाद थिएन, ठुला घराना व्यवसायीले सामान्यतया ५-६% जर्ति ११-१२% ज्याला लिने गरेको पाइन्थ्यो भने अन्य साना व्यवसायीले ८-१०% जर्ति १/२% जति ज्याला लिने गरेको पाइन्थ्यो। तर २०८१ असार मसान्त पछि सुनमा बजेत मार्फत २०% भंसार दर कायम गरेपछि केहि ठुला व्यवसायीमा अचानक जर्ति लिन हुदैन, गर-गहना निर्माणमा जर्तिनै जाँदैन, उपभोक्तालाई महगो जर्ति ज्याला लिन पाईदैन भन्ने दिव्य ज्ञान पलाएको देखिन्छ, सुनका गहनामा जर्ति नलिने ६% ज्याला मात्र लिने घोषणा गरेको पाइन्छ। एकदिन अघि सोही पसलमा सामन किन्ने ग्राहक अचानकै एकदिन पछि ११-१२% महगोमा परिएको होसपनि भएनछ।
यता अब साना व्यवसायीका सामानमा ८-१०% जर्ति र १% जति ज्याला लिँदा ठुला पसलमा भन्दा महँगो पर्ने भयो, त्यसमाथी जर्तिनै नजाने प्रचार भएपछि उनीहरुलाई व्यापार गर्न असहज भएको देखिन्छ। यहाँनीर साना व्यवसायीले वास्तविक ज्याला अत्यन्त कम देखाएर वास्तविक जर्ति भन्दा बढी जर्ति लिएर कारोवार गरेको देखिन्छ, निम्न,मध्यम वर्गका ग्राहकले वास्तविक ज्याला(बनाउने लागत+नाफा) धेरै भनेपछि सामान बेच्न गार्हो हुने डरले कम ज्याला र बढी जर्ति लिने गरेको अनुमान लगाउन सकिन्छ। तर समग्रमा उपभोक्ताको खर्च ठुला पसलमा भन्दा तुलनात्मक रुपमा थोरैनै लिएको देखिन्छ । ठुला साना जुनसुकै व्यवसायीले ज्याला जर्ति आ-आफ्नो लागत अनुसार राखेको भए पनि,त्यसभित्र समग्रमा गहना निर्माणको जम्मा लागत(जर्ति+कालिगडको ज्याला+औजार,रसायन खर्च आदि) लगानी गर्ने पसल व्यवसायीको नाफा(प्याकिङ खर्च पसलभाडा लगायत सम्पुर्ण खर्च) त्यसैमा समेटिएको हुन्छ। यहाँ मननयोग्य कुरा के छ भने ज्याला र जर्ति अथवा ज्यालामात्र जुन प्रणाली भने पनि उपभोक्ताको खर्च लागत बढ्नु भएन, जर्ति नलिने तर ज्याला १०-१५% गयोभने उपभोक्तालाई फाइदा हुदैन। यता अर्को स्मरणयोग्य कुरा के छ भने, सुनको कोटा प्रणाली र भंसार दरले गर्दा ज्याला जर्ति अस्थिर हुनेगरेको छ, आन्तरिक माग र आपुर्तिमा सन्तुलन नभए पछि यसरि मुल्ययुध्द चलेको बुझ्न सकिन्छ।
नेपालमा परंपरागत कालिगडको रुपमा काम गरेर आफ्नै बिक्री केन्द्रको रुपमा स-सानो पसल चलाएर बस्ने व्यवसायीको बाहुल्य छ। त्यसैले ज्याला जर्तिमा एकरुपता ल्याउन गार्हो काम हाे। अपितु यस क्षत्रको हित अधिकारको लागि काम गर्न भनी धेरै संघमहासंघ रहेको छ, उनिहरुले उपभोक्ता व्यवसायी र कालिगड सबैको हित हुने गरि नितीनियम बनाउन सरकारलाई सक्दो दबाव दिनुपर्ने देखिन्छ।
नेपाल सरकारको कर नीति र व्यवसायीको आन्तरिक लेखा मिलाउनको लागि गर-गहना निर्माण लागत लगायत व्यवसायीको नाफा अनि उपभोक्ता हित सुनिश्चित गरि सर्वमान्य नीतिगत व्यवस्था गर्न सरकार लगायत सम्बन्धित सबै संघंस्थाले पहल गर्न ढिलो भैसकेको छ, देशको अत्यावसेकमा सेवा नपरेको भनेर यो व्यवसायलाई अवमूल्यन र बेवास्ता गर्न मिल्दैन।सहि नितिनियम बनाएर दियो भने यस क्षत्रले ऐलेको भन्दा धेरैगुणा बढाएर कर तथा रोजगारि बृदि गर्न सक्छ।